डडेल्धुरा– डडेल्धुरामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको पाइएकाृ छ। सुरक्षित गर्भपतन गराउने सूचिकृत स्वास्थ्य संस्थाहरूको संख्या बढेसँगै जिल्लामा सुरक्षित गर्भपतन गराउने पनि बढिरहेका हुन् ।
चालु आर्थिक वर्षको अहिलेसम्म मात्रै डडेल्धुरामा ८ सय ५४ जना महिलाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमा ८ सय १५ जनाले औषधि र ३९ जनाले शल्याक्रियामार्फत सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय परिवार नियोजन संयोजक भवानीसिंह कुँवरले जानकारी दिए।
उनले सोमबार जिल्ला सदरमुकाममा आइपास नेपाल तथा सामुदायिक विकास मञ्चले संयुक्त रूपमा आयोजना गरेको स्थानीय सञ्चारकर्मीहरूसँग ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी छलफल’ कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।
उनका अनुसार गत आर्थिक वर्षमा जिल्लाभर १२ सय ७१ जना महिलाले सुरक्षित गर्भपतन गराएका थिए। जिल्लाका २० वटा सूचिकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा दिइदै आएको परिवार नियोजन संयोजक कुँवरले बताए।
औषधि र शल्यक्रिया गरी दुईवटा विधिमार्फत् सुरक्षित गर्भपतन गरिन्छ। चालु आर्थिक वर्षको अहिलेसम्म जिल्ला सदरमुकामको डडेल्धुरा अस्पतालमा मात्रै १ सय ५७ जनाले सुरक्षित गर्भपतन गराएका छन्। यीमध्ये १ सय ३१ जनाले औषधि र २६ शल्याक्रियामार्फत् गर्भपतन गराएका हुन्।
जबरजस्ती करणी, हाड नाता, विकलाङ्ग बच्चा जन्मिने सम्भावनालगायतका समस्या भए २८ हप्तासम्मको गर्भपतन निःशुल्क गराउन पाउने अधिकार छ।