कैलाली– जिल्ला निर्वाचन कार्यालय कैलालीले जिल्ला समन्वय समितिको निर्वाचन यहि जेठ ३० गते हुने जनाएको छ। २० गते मतदाता नामावली प्रकाशनबाट सुरु हुने निर्वाचन प्रक्रिया ३० गते मतदान हुँदा सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ। यस्तै ३० गते जिसस कैलालीमा विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
१३ पालिका भएको कैलालीमा २६ जनाले मतदाता गर्न पाउने छन्। जसमा एक जना स्वतन्त्र रुपमा विजयी भएका जनप्रतिनिधि छन्। एक जना सत्ता गठबन्धनकाविरुद्ध चुनाव लडेका कांग्रेसका नेताले पनि पालिका अध्यक्ष छन्।
यी दुई पालिका प्रमुख र अध्यक्षको मत जिल्ला समन्वय समिति गठन गर्न निर्णायक हुने देखिएको छ। जिल्ला समन्वय समितिको संयोजक बन्नका लागि १४ मत आवश्यक पर्छ। तर सत्ता गठबन्धनसँग १३ मत मात्रै छ।
कांग्रेससँग ८, माओवादीसँग ४ र एकीकृत समाजवादीसँग एक मत गरेर जम्म १३ मत हुन्छ। यसमा पनि एक जना कारबाहीमा परेका छन्। गठबन्धन विरुद्ध उम्मेदवारी दिएको भन्दै काँग्रेस नेता तथा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई कारबाही गरिएको थियो। उक्त कारबाही फुकुवा नभए गठबन्धनसँग पनि १२ मत मात्रै हुन्छ। त्यसकारण पनि सत्ता गठबन्धनलाई जिल्ला समन्वय समिति गठन गर्न सजिलो छैन।
कैलालीका चार स्थानीय तह जितेको नागरिक उन्मुक्ति पार्टीसँग ७ मत छ। एमालेसँग भने ५ मत मात्रै छ। एमाले र नागरिक उन्मुक्ति मिल्दा पनि १२ मत मात्रै हुन्छ। त्यसकारण यसले पनि समन्वय समिति गठन गर्न सम्भव छैन। ८ मत रहेको कांग्रेस र ७ मत रहेको नागरिक उन्मुक्तिले प्रमुख आफुले पाउने पर्ने दाबी गरिरहेका छन्।
सत्ता गठबन्धनलाई जिल्ला समन्वय समिति बनाउनका लागि स्वतन्त्र रुपमा विजयी भएका धनगढी उपमहानगरका मेयर गोपाल हमालको मत आवश्यक देखिएको छ।