चितवन – चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ ।
यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ ।
चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो ।
जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत भएपछि उनलाई भरतपुर अस्पतालको एनआईसीयूमा राखेर उपचार थालियो ।
मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुको कुराले बालिकाकी आमा कोपिला पुरीको परिवारलाई झस्कायो । चितवनको इच्छाकामना गाउँपालिका घर भएको पुरी परिवारको आर्थिक विपन्नताको चिन्ता त छँदै थियो ।
भरतपुर अस्पतालका चिकित्सकहरुले मुटुको अप्रेशन गर्न सक्ने जनशक्ति र पूर्वाधार नभएको भन्दै चितवन मेडिकल कलेजमा लैजान सुझाए ।
कलेजका मुटु शल्य चिकित्सक डा. अनिल आचार्य नेतृत्वको टिमले ८ घण्टा लगाएर गत जेठ ६ गते एक किलोको बच्चाको अप्रेशन गरे ।