बझाङ– बझाङको बित्थडचिर गाउँपालिकाले १ हप्ता भित्रमा गाउँपालिकामा जोखिममा रहेका सम्पूर्ण बालबालिकाको तथ्यांक अध्यावधिक गर्ने भएको छ । योसँगै वडा स्तरबाट योजना तर्जुमा गर्दा टुहुरा, अपांगता भएका, बिपन्न बालबालिकाको संरक्षणको लागि आवश्यक बजेट बिनियोजन गर्ने र पठनपाठनको अनिवार्य व्यवस्था मिलाउने, जोखिममा रहेका बालबालिकाको संरक्षकत्व ग्रहण गरेका अभिभावकहरुको लागि पालिकाले प्रथामिकतामा राखी सीपमूलक तालिम प्रदान गर्ने र जोखिममा रहेका बालाबालिकालाई सामाजिक सुरक्षा प्रणालीमा जोडन निशुल्क व्यवस्था मिलाउनेलगायतका ४ बुँदे प्रतिबद्धता गरिएको छ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा बित्थड्चिर गाउँपालिकामा आयोजित सार्वजनिक सेवा प्रवाहमा जोखिममा रहेका बालबालिकाको सहभागीता विषयक १ दिने बैठकमा उक्त प्रतिबद्धता जाहेर भएको हो। बैठकमा रुपान्तरण अभियान संचालन भइरहेको वडा नम्बर २, ४, ५ र ६ मा सहभागी बुवा आमा गुमाएका, अपांगता भएका १० जना बालबालिकाको सहभागीता रहेको थियो।
बैठकमा बालबालिकाहरुले आफुहरुलाई पठान पाठन सामाग्री आवस्यक रहेको बताए थिए । बैठकमा विषय बस्तु माथि प्रकाश पार्दै बासका रुपान्तरण सहजकर्ता राजेस्वरी भट्टराईले रुपान्तरणमा सहभागी केही बालबालिकालाई संरक्षणको निकै जरुरी भएकोले स्थानीय सरकारबाट सहयोग हुनुपर्ने बताए।