काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहमा भएको गठबन्धन आउने निर्वाचनसम्म जाने बताउनुभएको हो ।
स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको भन्दै उहाँले गठबन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कांग्रेसले अहंकार कहिल्यै नराखेको भन्दै उहाँले गठबन्धन दलका नेताहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व नराख्ने बताउनुभयो । हालै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रशिक्षणका क्रममा बोलेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “नेपाली कांग्रेस अहंकारको बाटोमा छँदै छैन, दाहालले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भन्नुभयो होला, त्यसलाई धेरै महत्व दिनुपर्छ भन्ने लाग्दैन ।”
आउने जिल्ला समन्वय समितिको निर्वाचनमा समेत गठबन्धनका दलबीच सहमति भएको भन्दै उहाँले सोही निर्णयानुसार प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनका नेताबीचमा भएका सहमति प्रतिबद्ध भएर पालना गरौँ ।” कहीँकतै अपवादका रुपमा गठबन्धन विरोधी गतिविधि भएको उहाँले बताउनुभयो ।