काठमाडौं – नेकपा माओवादी केन्द्रको आज (शुक्रबार) बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिश्चित कालका लागि स्थगित भएको बताए ।
‘आजको केन्द्रीय समितिको बैठक नहुने भयो,’ ढकालले भने, ‘एकै चोटि असार १५ गते बस्न पनि सक्छ । बीचमा भर्चुअल हुन पनि सक्छ ।’
स्थानीय तह निर्वाचनको समीक्षाका लागि माओवादीले शुक्रबार साँझ केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बैठक बस्ने तय गरेको थियो ।
ढकालका अनुसार सांसदहरु संसद् बैठकमा रहेकाले बैठक बस्न नसकेको बताए ।
‘सदनमा ह्विप जारी भएको छ । मन्त्रीहरु, केन्द्रीय सदस्य सांसदहरु त्यही केन्द्रित हुनुपर्यो,’ उनले भने ।
स्थानीय चुनावअघि बसेको माओवादी केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्न नसकेपछि माओवादीले जेठ २० मा बस्ने निर्णय गरेको थियो ।
तर, चुनावपछि बसेको पूर्व स्थायी समिति बैठकले शुक्रबार भर्चुअल बैठक बसेर चुनावी समीक्षा गर्ने र पदाधिकारी चयन गर्न असार १५ मा भौतिकरुपमै बैठक बोलाउने निर्णय गरेको थियो ।