बैतडी– जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको छ । बिहीबार नेपाली कांग्रेसको कार्यालयमा बसेको दुवै दलको बैठकले जिल्ला समन्वय समितिको नेतृत्वका लागि गठबन्धन गरेर जाने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
नेपाली कांग्रेसले प्रमुख पद सहित २ जना महिला सदस्य, २ जना खुला सदस्य र एक जना दलित सदस्य लिने सहमति भएको छ भने माओवादी केन्द्रले उपप्रमुख पद सहित एक जना महिला सदस्य र एकजना खुला सदस्य लिने सहमति भएको छ ।
जिल्ला समन्वय समितिको प्रमुखका लागि नेपाली कांग्रेसले जिल्ला उपसभापति खगेन्द्रसिंह धामीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उपप्रमुख पदमा भने कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।
यस्तै नेपाली कांग्रेसबाट समन्वय समितिमा सदस्य पदका उम्मेदवार कसलाई बनाउने भन्ने बिषयमा आज छलफल भइरहेको बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए ।
जिल्ला समन्वय समितिको निर्वाचनका लागि कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएसंगै उनीहरुको बहुमत पुग्ने देखिएको छ । यसरी हेर्दा समन्वय समितिमा गठबन्धनकै जित हुने देखिएको छ ।
समन्वय समितिका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने प्रावधान रही आएको छ । यसरी हेर्दा नेपाली कांग्रेसका ९ र माओवादीका २ गरेर गठबन्धनसंग ११ मतदाता रहेका छन् ।
यस्तै नेकपा एमालेसंग ८ र एकजना स्वतन्त्र मतदाता रहेका छन् । भोलि उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । यस्तै जेठ २२ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने र जेठ २४ गते बिहान ७ बजेदेखि ९ बजे सम्म मतदान गर्ने कार्यतालिका रहेको छ ।