काठमाडौँ – निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौँमा प्रदर्शन भएको छ ।
प्रभावित क्षेत्र टांगियाबासीले शनिवार काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका हुन् ।
विना विकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरूले ऐक्यवद्धतास्वरुप काठमाडौँमा शान्तिपूर्ण र्यालीसहितको प्रदर्शन सुरु गरिएको स्थानीयले बताए ।
उनले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपुर्जासहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।
स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयहरूलाई विस्थापित गराउने षड्यन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।
प्रभावित क्षेत्रका बासिन्दालाई सो बस्तीको विकल्पमा लालपुर्जासहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरूको मुख्य माग छ ।