कैलाली– कैलालीमा जिल्ला समन्वयन समिति (जिसस) गठनका लागि दुई दिनअघि गठबन्धन बाहिर गई नेकपा एमालेसँग लिखित सहमति गरेको नेकपा माओवादी केन्द्र पुनः गठबन्धनमै फर्किने भएको छ।
शनिबार बिहान बसेको गठबन्धनको बैठकपछि गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले जिससमा पनि गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेका हुन् ।
जिल्ला समन्वय समिति गठनका लागि कांग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टले गठबन्धनलाई निरन्तरता दिने लिखित सहमति नै भइसकेको बताए। ‘जिससमा गठबन्धनलाई नै निरन्तरता दिने हस्ताक्षरसहितको सहमति भइसकेको छ,’ उनले भने, प्रमुख कांग्रेसले र उपप्रमुख माओवादीले पाउने सहमति भएको छ । उनले सदस्यका विषयमा छलफल जारी रहेको बताए ।
बिहीबारमात्रै कांग्रेस र एकीकृत समाजवादीलाई वाइपास गर्दै माओवादीले जिसस कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेसँग भागबन्डाको सहमति गरेको थियो ।
उक्त सहमति अनुसार ३० गते हुने तय भएको जिसस कैलालीको निर्वाचनमा प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टीलाई, उपप्रमुखसहित दुई सदस्य एमालेलाई र ४ सदस्य माओवादी केन्द्रलाई दिने लिखित सहमति गरेका थिए ।
तर उक्त सहमति भएको दुई दिन नबित्दै माओवादीले पुनः गठबन्धनमै रहने निर्णय गरेको हो । माओवादी केन्द्रका जिल्ला संयोजक लाजुराम चौधरीले गठबन्धन कायम राख्ने सहमति भएको बताए ।