डोटी– जिल्ला समन्वय समिति, डोटीका सबै पदाधिकारी निर्विरोध चयन भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हुँदा सबै पदाधिकारी निर्विरोध भएका हुन्।
आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हुँदा सबै पदहरुमा निर्विरोध निर्वाचित भएको सहायक निर्वाचन अधिकृत बसन्तराज पाध्यायले बताए । जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह निर्वाचित भएका छन्। सिंह आदर्श गाउँपालिका–५ बाट ५ सय ६१ मत सहित गाउँ सभा सदस्यमा निर्वाचित भएका थिए। यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै स्मृति चुनारा निर्वाचित भएकी छन्। पूर्वीचौकी गाउँपालिका–७ बाट ७ सय २८ मत सहित गाउँसभा सदस्यमा निर्वाचित चुनारा समन्वय समितिमा निर्विरोध निर्वाचित भएकी हुन्।
खुला सदस्यमा रामबहादुर खड्का, ठक्कर बोहरा र नरेशबहादुर खड्का निर्वाचित भएका सहायक निर्वाचन अधिकृत पाध्यायले बताए। महिला सदस्यहरुमा दीपा खड्का, शान्ता भुल र निर्मला भुल र दलित सदस्यमा झगडी कामी निर्वाचित भएका पाध्यायले जानकारी दिए।
९ स्थानीय तह रहेको डोटीमा कांग्रेसले प्रमुख र उपप्रमुख गरेर १५, एमालेले २ र माओवादी केन्द्रले एक जितेको छन्। स्थानीय तह निर्वाचनमा एक्लै लडेको कांग्रेसले जिल्ला समन्वय समिति पनि एक्लैले बनाएको छ। जिल्ला समन्वय समितिमा जिल्लाका नौवटै पालिकाबाट प्रतिनिधित्व भएको छ।