काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्न सातवटै प्रदेशबाट सूचना संकलन गर्ने भएको छ । प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ ।
शनिवार बसेको पार्टी सचिवालय बैठकले पालिका चुनावको गम्भीर समीक्षा गर्न सही सूचनाको आवश्यकता रहेको निष्कर्ष निकाल्दै त्यसको सङ्कलनका लागि सबै प्रदेशमा एकरएक जना सचिवालयका सदस्यलाई खटाउने निर्णय गरेको हो ।
पाँच दिनभित्र सम्पूर्ण सूचना सङ्कलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेसमा रामचन्द्र झा, बाग्मतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो ।
बैठकमा गठबन्धनभित्र पनि पालिका चुनावमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भीर ढङ्गले छलफल गरिएको उहाँले बताउनुभयो ।बैठकमा नेताहरूले गठबन्धनमा आबद्ध अन्य दलहरूले आफ्नो पार्टीलाई चुनावका बेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।