कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया युवतीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ ।
दोधराचाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले युवतीको शनिबार साँझ उद्धार गरेको हो ।
युवतीलाई भारततर्फ लैजाने कार्यमा संलग्न भारत उत्तरप्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका वर्ष २९ का पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले विशेष सूचनाका आधारमा बाबाथान प्रहरी चौकीका इन्चार्ज भट्टसँग समन्वय गरी दशगजा क्षेत्रबाट युवतीको उद्धार गरिएको जानकारी दिए ।
युवतीलाई झुक्याएर भारत लैजाँदै गरेको अवस्थामा आरोपीलाई पक्राउ गर्नुको साथै युवतीको उद्धार गरिएको प्रहरीले जनाएको छ । रासस
Facebook Comments Box