नयाँदिल्ली– छिमेकी देश भारतमा फेरि कोरोनाभाइरस सङ्क्रमण बढ्दै गएको छ । भारतको केरला र महाराष्ट्रमा सबैभन्दा धेरै सङ्क्रमण फैलिरहेको हो ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ३४ दिनपछि फेरि सङ्क्रमण बढेर सङ्क्रमितको संख्या एक प्रतिशतभन्दा धेरै पुगेको जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रमा आइतबार मात्रै १ हजार ४९४ जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ ।
यस्तै, तमिलनाडु, मुम्बई, दिल्ली र राजस्थानलगायत क्षेत्रमा पनि सङ्क्रमण फैलिन थालेको बताइएको छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले सङ्क्रमण बढिरहेकाले सावधानी अपनाउन अपिल गरेका छन् । भारतमा आइतबार ४ हजार २७० जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि केन्द्रीय स्वास्थ्य मन्त्रालयले खोप अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । भारतका २७ राज्यमा ६० वर्षभन्दा माथिका धेरैजसोले खोप लगाउन बाँकी रहेको छ ।