काठमाडौँ — गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका २ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृहका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत अध्ययनसहित छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृहका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् । बर्दियाको मधुवन क्षेत्रमा बाघको आक्रमणबाट निरन्तर मानवीय क्षति भएको तर सरकार वन्यजन्तु पीडितप्रति उदासीन भएको, वनका अधिकारी घटनास्थल नपुगेको भन्दै आक्रोशित सोमबार गुलरिया-राजापुर सडकखण्ड बन्द गरिएको थियो ।
स्थानीयले उक्त सडकखण्डमा चक्काजाम गरेपछि सुरक्षाकर्मीसँग झडप भएको थियो । झडप भएपछि प्रहरीले गोली चलाउँदा नविना थारूको मृत्यु भएको थियो । सोही घटनाको छानबिन गर्न गृहमन्त्रीले समिति गठन गरेका हुन् ।