महेन्द्रनगर – महेन्द्रनगरको हाई प्रोफाईल व्यक्ति जोडिएको बलात्कार मुद्दामा प्रहरीदेखि अदालतसम्मै बयान फेर्ने चलखेल भएको पाइएको छ ।
आफ्नै घरमा कामगर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका महेन्द्रनगरका सुशील चटौतको मुद्दाबारे हाल ललितपुर जिल्ला अदालतमा बकपत्र चलिरहेको छ ।
तर, शक्तिको आडमा उनीहरुले बालिकालाई ‘होस्टाइल’ गरेर प्रहरीदेखि अदालतसम्मै बयान फेर्ने लगाएको खुलेको छ । अभियुक्त सुशीलका बुवा तीर्थराजको सम्बन्ध प्रधानमन्त्री कार्यालयसम्म छ ।
प्रधानमन्त्री कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठ र उनी बझाङमा निर्माणाधीन तीनवटा जलविद्युत परियोजनाका लगानीकर्ता हुन् ।
सोही शक्तिको दुरुपयोग गरेर उनीहरुले बालात्कारजस्तो जघन्य अपराधमा संलग्न भएका छोरा सुशीललाई जोगाउन चलखेल गरेका हुन् ।
यसअघि २८ चैतमा ललितपुरको एक अस्पतालमा स्वास्थ्य परिक्षणको लागि राखिएका बेलासमेत बालिकालाई चटौत परिवारले अपहरण शैलीमा घर लिएका थिए ।
पीडक पक्षको राजनीतिक र आर्थिक पहुँचका कारण यो मुद्दा दबाउन खोजिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताउँदै आएका थिए ।
ललितपुरको महालक्ष्मी नगरपालिकाको महेन्द्र आदर्श माविकी एक शिक्षिकाले बालिकामा गम्भीर समस्या भएको आकलनसहित इमाडोल प्रहरी प्रभागमा बुझाइदिएकी थिइन् ।
प्रहरीसँग बालिकाले केही नखुलाएपछि प्रभागले १० चैतमा संरक्षण दिएर र अनुसन्धानमा सहयोग पुर्याउन भन्दै बाल हेल्पलाइनलाई पत्रसहित बुझायो ।
पाँच दिनसम्म निरन्तरको मनोपरामर्शपछि बालिकाले बल्ल आफूमाथि तीन वर्षदेखि पटकपटक जबर्जस्ती करणी हुँदै आएको खुलाएकी थिइन् ।
बझाङकी १४ वर्षीया ती बालिका इमाडोलको ग्रिनहिल सिटीमा रहेको तीर्थराज चटौतको घरमा घरेलु कामदारको रूपमा बसेर पढ्दै आएकी थिइन् ।
तीर्थराजका छोरा सुशील चटौतले बालिकामाथि जबर्जस्ती करणी आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो । हाल उनी पुर्पक्षको लागि थुनामा छन् ।
११ जेठमा बकपत्रको लागि जिल्ला अदालत ललितपुर पुग्दा पनि तीर्थराज चटौतले आफ्नै प्राडोमा राखेर बालिकालाई अदालत पुर्याएका थिए ।