दार्चुला– दार्चुलामा एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले मुख्य आरोपीलाई पनि समातेको छ । मुख्य आरोपित शैल्यशिखर नगरपालिका–१ कै ४२ वर्षीय भोजराज खडायतलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
यससंगै प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । अर्का दुई आरोपीलाई भने प्रहरीले भाग्दै गर्दा बुधबार नै पक्राउ गरेको थियो ।
बुधबार बिहान शैल्यशिखर नगरपालिका–१ स्थित ४५ वर्षीया एकल महिला अमिमा खडायतको शव खरले जलाइएको अवस्थामा फेला परेको थियो। उनको शव फेला परेपछि घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
प्रहरीले तीन जनालाई पक्राउ गरेको भएपनि सबैको पहिचान खुलाइसकेको छैन। उनीहरुलाई पक्राउ गरेपछि सोधपुछको काम भइरहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।
मृतक खडायतका श्रीमान ७÷८ वर्षअघि नै बितेका थिए । बुधबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।