पाल्पा – पाल्पाको रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु ओसारपोसार गरेको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ।
बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि अस्पताल विकास समितिले छानबिन समिति गठन गरी प्रक्रिया थालनी गरेको छ ।
छानबिनका लागि अस्पताल प्रमुख नेत्रनारायण पोखरेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । पोखरेलले छानबिन प्रक्रियालाई अघि बढाइएको र यथार्थ जानकारी लिने बताए ।
छानबिन समितिले बिरामी नै बोकेको हो भन्ने गल्ती प्रमाण पाएमा चालकलाई कारबाही गर्ने अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले जानकारी दिए । ७ दिनभित्र प्रतिवेदन बुझाउन छानबिन समितिलाई उनले निर्देशन दिए ।
अस्पतालको बा२झ १७४३ नम्बरको एम्बुलेन्स पाल्पा तानसेनको प्रभासबाट ४ यात्रु रामपुर लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्दा केही दिनअघि ट्राफिक प्रहरीको कारबाहीमा परेको थियो । भाडामा यात्रु बोकेको शंका लागेपछि सोधपुछ गर्दा कारबारहीमा परेको हो ।
पहिलो पटक रहेकाले १ हजार रुपैयाँ जरिवाना गरी एम्बुलेन्सलाई छोडिएको थियो । प्रभासबाट रामपुरसम्मको १ यात्रुको ६२५ रुपैयाँका दरले २ हजार ५०० रुपैयाँ भाडा असुलेको बुझिएको छ । प्रचलित भाडादर भन्दा सो भाडादर बढी हो ।