बझाङ – बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा अहिले स्थानीयका घर–घरमा पुगेका छन् ।
निर्वाचित भएलगत्तै अध्यक्ष बोहराले मतदातालाई धन्यवाद दिनका साथै सामाजिक सुरक्षाभत्ता वितरण गर्नको लागि घरदैलो गर्न थालेका हुन् ।
आर्थिक वर्ष २०७८।०७९ को अन्तिम चौमासिक सामाजिक सुरक्षाभत्ता वितरणका लागि अध्यक्ष बोहरा लाभग्राहीको घरघरमा पुगेका छन्। विगतमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले वडा कार्यालयमै पुग्नुपर्ने अवस्था रहेकाले ज्येष्ठ नागरिकसहित लाभग्राहीलाई समस्या रहेकाले आफैँ सेवाग्राहीको घरमा पुग्न थालेको अध्यक्ष बोहराले बताए।
जम्मा पाँच वडा रहेको साइपाल गाउँपालिका भौगोलिक रूपमा अति विकट भएका कारण स्थानीय बासिन्दालाई समस्या हुने गरेको छ। गाउँपालिकाभित्रका सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने ७० वर्षमाथिका वृद्धवृद्धालाई वडा कार्यालयसम्म पुग्न समस्या हुने गरेको हो। साइपाल गाउँपालिका–१ धलौनकी स्थानीय राइमती बोहाराले भनिन्, ‘यै पालका (यस पटकका) अध्यक्षले घरमा आएर भत्ता दिया। आजसम्म यसरी घरमा भत्ता दिन कोही पनि आयानन् तर उहाँ घरमै आया। यस पटक वडा कार्यालयसम्म जानु परेन।’
गाउँपालिका अध्यक्ष बोहराले बिहीबार र शुक्रबार वडा नं. १ धलौन र वडा नं. २ जिमामा रहेका लाभग्राहीको घरघरमा पुगेर भत्ता वितरण गरेको साइपाल गाउँपालिकाका इन्जिनियर तिलक बिसीले बताए। सबै वडामा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने अध्यक्ष बोहराको योजना छ।
बोहराले भने, ‘पालिकाका सबै वडामा गएर भत्ता वितरण गर्ने योजना रहेको छ। नागरिकले पाउने भत्ता लाभग्राहीको हातमै पुर्याउने योजनाअनुसार म सबै लाभग्राहीका घरमा पुगिरहेको छु।’
सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिले अनिवार्य रूपमा बैंकमा खाता खोलेर बैंकमार्फत रकम पाउने र पालिकाले पनि बैंकमार्फत रकम भुक्तानी गर्नुपर्ने भए पनि हालसम्म साइपाल गाउँपालिकामा बैंक स्थापना हुन नसक्दा सामाजिक सुरक्षाभत्ता नगदमै वितरण हुने गरेको छ।