धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजमा तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका छन् ।
गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित अत्तरिया संघर्ष समितिले शुक्रबार धनगढीमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले तत्कालका लागि ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका हुन् । आफू सुदूरपश्चिमकै नागरिक भएकाले गेटामा सेवा सुचारु गरेरै छोड्ने प्रतिबद्धतासमेत व्यक्त गर्दै प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेज सञ्चालनका लागि आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा छलफल हुने बताए ।
‘मेडिकल विश्व विद्यालय बनाउने की प्रतिष्ठान बनाउने भन्ने विषयमा पछि निर्णय गरौंला,’ ज्ञापन पत्र बुझ्दै देउवाले भने, ‘तत्कालका लागि तीन सय बेडको अस्पताल सञ्चालनको प्रक्रिया अघि बढिसकेको छ ।’
९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको गेटामा तत्काल सेवा सञ्चालन हुनुपर्ने भन्दै अत्तरिया संघर्ष समितिले ज्ञापन पत्र बुझाएको थियो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार धनगढी आएका हुन् ।
प्रधानमन्त्री देउवाले आज शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।