दार्चुला – पूर्ण खोप सुनिश्चितताका लागि जिल्लामा घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण थालिएको छ । जिल्लाका ९ओटै स्थानीय तहमा घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टका अनुसार राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले सबै खोप लगाए–नलगाएको बारेमा जानकारी लिनका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य भईरहेको छ । सबै पालिकाका वडामा सर्वेक्षण तथा प्रमाणीकरण भईरहेको बताइएको छ ।
पालिकाहरुले यसअघि नै प्रत्येक घरमा घरधुरी सर्वेक्षण गरिसकेकाले सो कार्यलाई प्रमाणीकरण गर्नका लागि जिल्लाभरी घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण कार्य थालिएको खोप सुपर भाइजर भट्टले बताउनु भयो । १६ महिनादेखि २३ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए–नपाएको बारेमा सर्वेक्षण भईरहेको हो ।
जन्मेदेखि २३ महिना सम्मका बालबालिकाहरुलाई विभिन्न रोग विरुद्ध १२ खोप दिने गरिएको छ । उहाँले भन्नुभयो– ‘पालिकालेहरुले गरेको सर्वेक्षणलाई हामीले सही छ कि छैन भनेर प्रमाणीकरण गरिरहेका छौं, सर्वेक्षणका क्रममा कुनै बालबालिका छुटेको पाइएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउछौं ।
असार मसान्तसम्म सञ्चालन हुने घरधुरी सर्वेक्षण कार्यक्रममा हाल सम्म जिल्लाको महाकाली नगरपालिका,मार्मा गाउँपालिका दुहुँ नौगाड,अपि हिमाल गाउँपालिकामा घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण गर्ने काम सकिएको बताइएको छ ।अन्य पालिकाहरुमा पनि सर्वेक्षण तथा प्रमाणीकरण गर्ने भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला जिल्लालाई वि स २०७३ सालमा पूर्ण खोपयुक्त जिल्ला भईसकेकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित गर्ने गरिएको छ ।
पूर्ण खोप युक्त जिल्ला घोषणापश्चात खोप पाउने उमेर समूहका बालबालिकाहरुले पूर्ण खोप पाएमा पालिकाहरुलाई प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने र त्यसपछि स्वास्थ्य कार्यालयले प्रमाणीकरण गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिन्छ । यो वर्ष असार मसान्त सम्म जिल्लालाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्ने तयारी रहेको छ ।
हालसम्म जिल्लाको नौगाड गाउँपालिका मात्रै पुर्ण खोप सुनिश्चिता पालिका घोषणा भइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।