सर्लाही – सर्लाहीको धनकौल गाउँपालिका–५, छठीघाट पुलमा शनिबार राति कार दुर्घटना हुँदा चार वर्षीय बालकको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।
जिल्लाकै छतौनाबाट छठियारको भोज (बच्चा जन्मिएको छ दिनमा गरिने भोज) खाएर रौतहटको वृन्दावन हरैयातर्फ फर्किदै गरेकाहरु सवार बीआर ०५ एआर ५१३७ नम्वरको कार शनिबार राति १ बजेतिर दुर्घटनामा परेको हो।
दुर्घटनामा रौतहटको वृन्दावन नगरपालिका–४, हरैया बस्ने शुभलाल यादवका छोरा ४ वर्षीय गम्भीर यादवको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।
दुर्घटनामा वृन्दावन नगरपालिका–४, हरैयाकै ७० वर्षीय महेन्द्र राय, ४ वर्षीय अमित कुमार यादव, १४ वर्षीया मीरा कुमारी यादव, ३२ वर्षीय जितेन्द्र कुमार यादव, १७ वर्षकी शोभा कुमारी यादव, १० वर्षीय गौतम यादव र ६ वर्षीय अनिकेत यादव घाइते भएका छन्। घाइतेमध्ये ७० वर्षीय महेन्द्र रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको बरहथवामा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक चन्देश्वर यादवले दुर्घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको बताए। दुर्घटनापछि कारका चालक फरार भएका छन्।
चालकसहित नौ जना सवार कार पुलबाट करिव १५ फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।