काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्षबीच धेरै विषयमा विमति रहने भए पनि राष्ट्रिय हित, विदेश नीतिमा विमति हुनु नहुने बताएका छन् ।
मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञावलीले एमसीसीलाई देशभित्र गिजोलिएको र झण्डै भूराजनीतिक द्वन्द्वको अवस्थामा पुगेको बताए । दलहरूले सत्तामा रहँदा आफैले हस्ताक्षर गर्ने र सत्ता बाहिर रहेपछि राजनीतिक तथा दलीय स्वार्थका कारण गिजोलेको उनले बताए ।
नेपालले अहिले भूराजनीतिक बदलाव र त्यसका बाछिटा भोगिरहेको उल्लेख गर्दै उनले देशको अस्मिता जोगाउन हाम्रा पुर्खाले देखाएका कुशलताबाट पनि धेरै कुरा सिक्न सकिने प्रस्ट पारे ।
नेपालको संविधानले इतिहासमा पहिलो पटक राष्ट्रिय हितको ‘डिफाइन’ गरेको भन्दै उनले परराष्ट्र नीतिबारे संवैधानिक दिशा निर्देश भएको पनि जनाए । परराष्ट्र नीतिका सम्बन्धमा घोषित नीति हुँदा हुँदै एसपीपीमा कसरी हस्ताक्षर भयो भन्नेबारे खोजीको विषय रहेको उनले बताए ।
उनले संसारका सबै मुलुकबाट सहयोग लिन चाहेको तर त्यो सहायताका सर्त हाम्रो राष्ट्रिय हित विपरीत हुनु हुँदैन भन्ने पक्षमा आफूहरू प्रस्ट रहेको बताए । तर परराष्ट्र मन्त्रालयलाई छलेर यस प्रकारका कुनै काम गर्न नहुने उनको भनाइ थियो ।