काठमाडौं – वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभर हवाई उडान बन्द गर्ने घोषणा गरेको छ।
संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनी गरेको निर्णयको विरोधमा आफ्ना विमान र हेलिकप्टर नचलाउने निर्णय गरेको हो।
सरकारले गरेको निर्णयमा चित्त नबुझै कारण संघले अत्यावश्यक सेवामा बन्दको घोषणा गरेको हो।
‘बाध्यात्मक रूपमा यस संघसंग आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडानहरू मिति २०७९।०३।०८ गतेबाट स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ संघको विज्ञप्तिमा भनिएको छ।
प्राधिकरणका अनुसार हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्ने भएको छ।
हाल नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन्। यीमध्ये १७ वटा जहाज काठमाडौंकै विमानस्थलमा बस्न पाउने छन्। ३५ वटा जहाज भने काठमाडौंबाहिर पुग्नुपर्ने विमानस्थलका प्रवक्ताले जानकारी दिए । जसमध्ये एयरलाइन्सहरू अब काठमाडौंबाहिर चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थल पुग्नुपर्ने छ ।