काठमाडौं – एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ ।
मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०९ रनको विजयी लक्ष्य पच्छाएको हङकङ्ले १५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
हङकङको लागि मारिको हिलले सर्वाधिक ४५ रनको योगदान दिइन भने नताषा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन जोडिन । बलिङमा नेपालकी सङ्गीता राईले दुई तथा सीता मगरले एक विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ३२ रनको योगदान दिइन भने अप्सरी बेगमले अविजित २२ रन बनाइन् ।
त्यसैगरी बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ तथा इन्दु वर्मा शून्य रनमा आउट भइन् ।
हङकङकी बेट्टी चानले दुई तथा मार्याम बीबी र एलिसा हब्बार्डले समान एक/एक विकेट झारे । समूह ‘बी’ मा रहेको नेपाल तीन खेलमा छ अङ्क जोड्दै प्रतियोगितामा यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । उक्त च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।