काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले विश्व व्यवस्थामा ठूलै परिवर्तनको संकेत देखा परेको बताएका छन्।पुनले संसारभर पुँजीवादी विश्व व्यवस्थाको विकल्प खोज्न थालिएको बताएका थिए। अहिले विश्व नै आर्थिक संकटको सम्भावित जोखिममा परेको र असमानता तथा विभेदको खाडल गहिरिँदै गएको भन्दै पुनले त्यसका लागि पुँजीवादी व्यवस्था जिम्मेवार रहेको तर्क गरेका छन्।
पुँजीवादको विकल्प समाजवाद भएको भन्दै उनले फेरि एकपटक संसारभर समाजवादी व्यवस्था स्थापना हुने बताए।‘विश्वव्यापी रुपमा विभेद र असमानता बढेको छ। यो पुँजीवादी विश्वव्यवस्थामा आएको संकट हो’, काठमाडौंमा भएको नेपालमा समाजवादको सम्भावना र चुनौती विषयक अन्तर्क्रियामा उनले भने, ‘मार्क्सले भन्नुभएको थियो-पुँजीवादी व्यवस्थाको असफलताको गर्भबाटै समाजवादको जन्म हुन्छ। त्यो समय अब आएको छ।’
पुनले संविधानमै नेपाललाई समाजवाद उन्मुख उल्लेख गरिएको भन्दै राज्यले समाजवादका आधार निर्माण गर्ने गरी काम गर्नुपर्ने बताएका थिए। समाजवादको जग बसाल्न स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्यान्न र आवासमा जनताको अधिकार ग्यारेण्टी हुनुपर्ने उनले बताए। संघ, प्रदेश र स्थानीय सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा विगतको तुलनामा लगानी बढाए पनि त्यो पर्याप्त नभएको उनले बताएका छन्।
केही प्रदेश र पालिकाले जनताको आधारभूत स्वास्थ्य निःशुल्क गरेको उनले बताए। ‘हामीले संविधानमा नेपाललाई समाजवाद उन्मुख भनेका छौं’, पुनले भने, ‘त्यो भनेको शिक्षा, स्वजास्थ्य रोजगारीको ग्यारेण्टी हो।’ पुनले उत्पादक शक्तिको विकास, उत्पादन वृद्धि तथा त्यसको न्यायिक वितरणमार्फत समाजवादको आधार निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका थिए।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले नेपाली अर्थतन्त्र दबाबमा रहेको बताए। कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको नारात्मक प्रभावका कारण विश्वव्यापी आर्थिक मन्दीको अवस्था आउन सक्ने पुनले बताए।