दार्चुला – भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ ।
एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार परियोजनाको बाँध असार १६ गते विहान ५ बजे देखि १६ गते बेलुका ८ बजे बजेसम्म खोलिने भएको हो ।
पावरस्टेसनको पत्रअनुसार शिल्ट फ्लशिङ्ग र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिए । बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइराख्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ ।बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको ब्यास गाउँपालिकाको ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यस्तै नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको छ ।
महाकाली नदीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउनले नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । उता, परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।
विसं २०७० मा धौलीगंगाको कै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौको क्षति भएको थियो । दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगाको परियोजनाको बाँध खोलिने’जानकारी भएयता पछिल्लो समय सिमाक्षेत्रमा केही सहजता समेत भएको छ ।