जुम्ला– १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्दननाथ प्रथम, हिमा गाउँपालिका द्वितीय र पातारासी गाउँपालिका तृतीय भएका छन् ।
१५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो । प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहको सहभागिता थियो । गुठीचौरले भने सहभागिता जनाएको थिएन ।
जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यका अनुसार ६ विधामा खेल खेलाइएको थियो । यसमा सबैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधि जितेको छ । हिमा गाउँपालिकाले एथ्लेटिक्स प्रतियोगिताको शिल्ड जितेको छ । मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ । यसैगरी पातारासीले पुरुष भलिबल प्रतियोगिता जित हात पारेको थियो भने कनकसुन्दरी द्वितीय भएको थियो ।
महिला भलिबल प्रतियोगितामा कनकसुन्दरी गाउँपालिका प्रथम भएको छ भने द्वितीय चन्दननाथ नगरपालिका भएको छ । कबड्डीमा चन्दननाथ प्रथम, कनकसुन्दरी गाउँपालिका द्वितीय भएको आयोजकले जनाएको छ ।