दार्चुला – वर्षातका कारण जिल्लामा बाढीपहिराको जोखिम बढने भन्दै यहाँका स्थानीय तहले मनसुनजन्य विपदका घटनाहरुबाट बच्न आग्रह गरेका छन । मुख्यतया जिल्लाको नौगाड गाउँपालिका तथा लेकम गाउँपालिकाले एक÷ एक सार्वजनिक सुचना जारी गदैँ आ आफना पालिकाबासीहरुमा मनसुनजन्य विपदबाट बच्न आग्रह गरेका छन । विपद्का कारण हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि यहाँका स्थानीय तहले पूर्वतयारी स्वरुप सार्वजनिक सुचना मार्फत सतर्कता अपनाउन आग्रह गरको हो । गत वर्षभन्दा यस वर्ष पानी धेरै आउने जल तथा मौसमविद्ले पूर्वानुमान गरेअनुसार जिल्लामा बाढी तथा पहिरो गई क्षति हुन सक्ने भएकाले मनसुनजन्य विपदका घटनाहरुबाट बच्न आग्रह गरिएको लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशीले जानकारी दिनु भयो । उनले भने, ‘यस वर्ष पानी धेरै पर्ने मौसमविद्ले अनुमान गरेअनुसार लेकम गाउँपालिका का विभिन्न बस्तीमा क्षति हुन सक्ने अवस्था देखिएकाले त्यसको न्यूनीकरणका पालिकाको तर्फबाट सुचना नै जारी गरि पालिकाबासीहरुमा आग्रह गरिएको उनले बताए । साथै विपदजन्य घटना भएमा तथा सहयोगको लागि सीमा प्रहरी कार्यालय लालीको सम्पर्क नम्बर ९७४८२४६९५८, बिओपी पोष्ट लालीको सम्पर्क नम्बर ९८६७२०४८५२, ईलाका प्रहरी कार्यालय रिठाचौपाता ९८४८८०९४१२, प्रहरी चौकी रातामाटा ९८६४६२९४९२ ÷ ९८६८७४५४५८, नेपाल प्रहरीको हटलाईन नम्बर १०० र लेकम गाउँपालिका विपद् व्यवस्थापन युनिट ९८४८७५१२६० मा सम्पर्क गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।
वर्षातका समयमा बाढी, पहिराका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई दृष्टिगत गर्दै आवश्यक तयारीमा जुटेको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिह धामीले बताउनु भयो । उनले भने, ‘वर्षातका कारण बर्सेनि नौगाड गाउँपालिकामा बाढी पहिरो आएर क्षति गर्दै आएको छ, हामीले यस वर्ष क्षति हुन नदिन आवश्यक तयारी गर्न थालेका छौँ, जनधनको क्षति रोक्न पूर्वकोसिस गर्नेछौँ।’केही दिन पहिले मात्रै नौगाड गाउँपालिकामा १ जना २१ वर्षीय युवकको पहिरोमापरी मृत्यु भएको छ ।
बाढीपहिरोजस्ता दैवी विपत्तिका कारण यहाँका नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले विपद् पूर्वको तयारीका साथै पछिको उद्धारलगायत व्यवस्थापनका लागि जनप्रतिनिधिको सहयोगमा कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सवारी साधन, सवारी चालकलाई ‘हाई अलर्ट’ मा राख्ने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले बताए। उनले भने, ‘विपद् आइपरे समाधान गर्नका लागि प्रयोग गर्न सबै जनशक्ति तयारी अवस्थामा राखेका छौँ, जनधन तथा नागरिकको सुरक्षा कसरी गर्ने भन्ने विषयमै केन्द्रित भएका छौँ।’
यसैगरी, जिल्ला विपद् व्यवस्थापन समितिले वर्षातका कारण यहाँका ग्रामीण भेग जाने सडक पहिरोका कारण बन्द हुन सक्ने भएकाले स्थानीय तह तथा अन्य निजी क्षेत्रका डोजर, स्काभेटर समन्वय गरी बाटो पुनः सञ्चालन गर्ने, जुनसुकै बेला पनि समस्या आउन सक्ने भएकाले सवारी चालक तथा साधनको व्यवस्थापन गर्ने र विपद्पछिका कार्यमा उद्धारका लागि सबै निकाय संयुक्त रूपमा तत्काल परिचालन गर्ने निर्णयसमेत गरेको छ। जिल्लाका कुनै पनि भागमा घटना घटेको खबर पाउनासाथै आवश्यक जनशक्ति तथा उपकरणसहित पुग्ने गरी समूह निर्माण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। वर्षातको समयमा बाढीपहिरो आई क्षति हुन सक्ने भएकाले त्यसको समाधान गर्नका लागि र तत्काल घटना घटेका ठाउँमा जनशक्ति परिचालन गर्न आवश्यक पर्ने हुँदा त्यसका लागि जिल्लामा कार्यरत चारवटै सुरक्षा निकायलाई हाई अलर्ट’ मा राखिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।