पोखरा – राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले सही तरिकाले व्यवसाय गर्नेहरूको संरक्षण र अवैधरूपले हुने राजस्व चुहावट रोक्नु जरुरी रहेको बताए ।
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित कार्यक्रममा हालै महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीले ठूला कर छलीका घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिबद्धता व्यक्त गर्दै छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन् ।
राजस्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्ने बताउँदै उनले आफूहरूको दृष्टिमा ठूला भन्ने कोही नरहेको बताए । राजस्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, ट्रेकिङ व्यवसाय, निर्माण र सेवा क्षेत्रमा रहेको बताउँदै उनले उद्योगको हकमा राजस्व चुहावट कम रहेको र त्यसले उत्पादकत्व वृद्धिमा सघाएको उल्लेख गरे ।
बजार एउटा समूहको अवैधानिक कब्जामा अगाडि बढेको र यसलाई रोक्न नसक्दा हिजो बाबुबाजेको पालादेखि व्यवसाय गर्दै आएकाहरू पलायन हुने खतरा बढेको उनले बताए ।
महानिर्देशक अधिकारीलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचका नाममा व्यवसायीको मानमर्दन नगर्न तथा व्यवसायीलाई सफाइको मौका दिन माग गरे ।