दार्चुला – खानेपानीको पाइप लाइनमा पहिरो गएर पाइप चुडिएपछि विगत एक दुई हप्ता देखी सदरमुकाम खलंगामा बन्द भएको खानेपानी पुनः सुचारु भएको छ । आज विहानै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट खटिएको खानेपानी मर्मत टोलीले चुडिएको पाइप जडान गरेपछि खानेपानी आपुर्ती सहज भएको हो । महाकाली नगरपालिका–३ मालुबेला नजिक खानेपानी पाइपमा पहिरो खस्दा मेन पाइप चुडिएर सदरमुकाम खलंगामा खानेपानी आपुर्ति बन्द भएको थियो । खानेपानी आपुर्ती बन्द हुँदा याहाका स्थानियले सशस्त्र प्रहरी र नेपाली सेना संग मागेर खानेपानीको व्यवस्थापन गरिरहेका थिए ।
सशस्त्र प्रहरीको टोलीले पहिरोले चुडालेको ४० मिटर खानेपानीको पाइप जोडेपछि आजबाट धारामा पानी आउने भएको छ । नगरपालिकाको वडा नम्बर २ गाराकु मुलबाट ल्याइएको खानेपानीको पाइप लाइन व्यवस्थित नहुँदा समय–समयमा सदरमुकाम खलंगामा खानेपानी अबरुद्ध हुने गरेको छ । खलंगाका स्थानियले खानेपानी चरम समस्या भोग्दै आइरहेका छन् । खलंगा खानेपानी उपभोक्ता समितिले पाइप लाइन तथा खानेपानीका अन्य संरचनाहरु मर्मत सम्भार नगर्दा समय–समयमा खानेपानी आपुर्ती बन्द हुदै आएको छ । सशस्त्र प्रहरीको ४४ नम्बर गणबाट सशस्त्र प्रहरी सहायक निरिक्षक नवराज भट्टको कमाण्डमा १५ जनाको टोली खानेपानी मर्मतका लागि सो क्षेत्रमा खटिएको गणपति त्रिभुवन विष्टले बताउनुभयो ।