काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा शुक्रवार ‘नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक विचार–गोष्ठीको आयोजना गरियो ।
सहभागी वक्ताहरूले उत्कृष्ट अनुवादका लागि सिद्धान्त अनुसारको अभ्यास गर्नुपर्नेमा जोडदिए ।
कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा–साहित्यलाई विश्वस्तरमा लैजान नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुवाद कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनका अनुसार चिनियाँ भाषाका साहित्यिक कृति नेपाली भाषामा र नेपाली भाषाका साहित्यिक कृति चिनियाँ भाषामा अनुवाद भइरहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन दुई किसिमले चीनमा अनुवाद भइरहेको छ। सन् २०१९ मा बेइजिङमा भएको सम्मेलनले एसियाका प्राचीन ग्रन्थको अनुवाद गर्ने निर्णय गरेको थियो, त्यसअनुसार चीनले व्यवस्थित कार्यक्रम बनायो । जसमा एसियाका १६ देशका ग्रन्थ अनुवाद हुँदैछन् ।
कुलपति उप्रेतीले विश्वेश्वरप्रसाद कोइरालाको कथासङ्ग्रह ‘दोषी चश्मा’, भानुभक्त आचार्यको ‘रामायण’, बाबुराम आचार्यको ‘नेपाल, तिब्बत र चीन’ चिनियाँ भाषामा अनुवाद भइरहेको जनाए । उनले अनुवादलाई अझै गुणस्तरीय बनाउन तालिम र कार्यशाला आवश्यक रहेको धारणा राखे ।
प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अनुवादको काम २०१६ देखि गर्न थालिएकोमा २०६६ सालमा साहित्य (अनुवाद) विभागको स्थापना भएपछि कामले अझ तीव्रता पाउन थालेको धारणा राखे । । प्रतिष्ठानले २०७४ सालमा ‘अनुवादक कोश’, २०७७ सालमा अनुवाद सन्दर्भ ग्रन्थ प्रकाशन गरेको छ । अनुवादका क्षेत्रमा भएका राम्रा कामको प्रोत्साहनका लागि नेपाल प्रज्ञा अनुवाद पुरस्कार पनि स्थापना गरिएको छ ।
विभागका प्रमुख एवम् कार्यक्रम संयोजक प्रा.डा. उषा ठाकुरले २०७५ पछि २७ ओटा अनूदित ग्रन्थ तयार भएको जानकारी दिइन् । कार्यक्रमका सभाध्यक्ष प्राडा अभि सुवेदीले भानु भक्त जस्ता प्रतिभाशाली अनुवादक आफूले आजसम्म नभेटेको विचार राख्दै अनुवाद गरेर मात्र नहुने, दृष्टिकोण अनुवादमा आउनुपर्ने बताए ।
डा. बलराम अधिकारीले ‘नेपालमा साहित्य अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार ६० प्रतिशत अनुवाद अङ्ग्रेजीबाट नेपालीमा हुने गरेको छ । तर अन्तर्राष्ट्रिय पाठकलाई सोचेर नेपालमा अनुवाद हुन सकेको छैन ।