काठमाडौँ – काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ ।
उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशङ्का लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरूले नै गरिरहेका छन् ।
उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ राख्न गृहकार्य सुरुआत गरेको छ ।
यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसँग संवाद गरिसकेको छ ।
नगरप्रमुख घनश्याम गिरीलेका अनुसार उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्ने छ । यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । मेसिनको करिब रु दुई करोड ५० लाख पर्ने जनाइएको छ ।
उनका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वानसमेत गरेको छ ।