दार्चुला – दार्चुलामा एक महिनामा १ हजार ९७ जना नयाँ मतदाता थपिएका छन । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलनको क्रममा नयाँ मतदाता थपिएका हुन् । निर्वाचन आयोगले गत आसार १ गतेदेखि मतदाता नामावली संकलन कार्य जारी राखेको छ । जिल्लाका दुई स्थानमा मतदाता नामावली संकलन कार्य भइरहेको छ ।
जिल्लाको जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन कार्य भइरहेको बताइएको छ । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदिप सिह धामीले दिएको जानकारी अनुसार दुबै ठाउँबाट एक महिनामा ५३१ जना महिला तथा ५सय ६६ जना पुरुष गरी १ हजार ९७ जनाको नामावली संकलन गरिएको छ । यसै अन्तरर्गत अध्यावधिक कार्यक्रम अन्रतर्गत १२ जनाको नाम संच्याइएको छ भने ९५ जनाको मतदाता नामावली सारीएको छ । निर्वाचन कार्यालय दार्चुलाका अनुसार निर्वाचन कार्यालयमा मात्रै एक महिनामा २३९ जना महिला तथा १९४ जना पुरुष गरी ४३३ जनाको नामावली संकलन गरिएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलामा २९२ जना महिला तथा ३६७ जना पुरुषगरी ६५९ जनाको नाम दर्ता गरीएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । यो एक महिनाको विचमा ५ जना पुरुष बाह्य जिल्लाबाट दार्चुलामा बसाइसराई गराएकाहरुको पनि नामावली संकलन गरिएको छ । जिल्लामा थपिएका बाहेक कुल ८८ हजार २ सय ८५ जना रहेका छन । सरकारले स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने निर्णयपछि गत माघ २४ गतेदेखि मतदाता नामावली संकलन कार्य रोकेको थियो । अहिले पनि मतदाता नामावली संकलन कार्य भइरहेको छ ।