दार्चुला – आइतबार राती देखि दार्चुला जिल्लाभरिको विद्युत सेवा बन्द भएको छ । विद्युत सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । जिल्लाभरि सबै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । विद्युत प्रसारण लाइनमा समस्या आएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका सुपरभाइजर पदम बहादुर बमले जानकारी दिए ।
जिल्लाको शैल्यशिखर नगरपालिका ५ वरमुडे क्षेत्रमा विद्युतको पोल ढलेका कारण विद्युत सेवा अबरुद्ध भएको उहाँले बताउनु भयो । आज बेलुकी सम्म अबरुद्ध विद्युत सेवा संञ्चालन आउने बताइएको छ । अवरुद्ध विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोली हिजो देखि खटिएको छ । आइतबार राती देखि विद्युत सेवा अवरुद्ध हुँदा निकै समस्या भएको सेवाग्राहीले बताएका छन् ।
विद्युत सेवा अवरुद्ध हुँदा यहाँका सञ्चारमाध्यम, मोबाइल चार्ज गर्न समस्या, विद्युतीय उपकरण चलाउन सकिएको छैन । विद्युत नहुँदा यहाँका केही रेडियो, एफएमको प्रसारण सेवा समेत रोकिएको छ । यो गर्मी समयमा विद्युत सेवा पनि नहुँदा झनै समस्या भएको महाकाली नगरपालिकाका स्थानीय पदम सिह धामीले बताउनु भयो । दार्चुलामा विद्युतको अनियमित कटौतीले समस्या भइरहेको बेला विद्युत सेवा नै अवरुद्ध हुँदा झनै समस्या हुने गरेको छ ।