महेन्द्रनगर – वरिष्ठ लोकदेउडा गायक हरिशचन्द्र कडायतको ५४ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।
बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारवारिक स्रोतले जनाएको छ ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्लामा जन्मेका गायक कडायतको मस्तिष्क घातका कारण मृत्युु भएको छ ।
२०५० सालदेखि नै गायन क्षेत्रमा प्रवेश गरेका सुमधुर स्वरका धनी कडायतले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘लंकाभरि सुन छ’, ‘ल बिणी खान्या की’ लगायत तीन सय भन्दा बढी गीतमा आवाज दिएका थिए ।
कडायतका ३ छोरा‚ एक छोरी र श्रीमती छन् । उनको आजै धनगढीस्थित शिवगंगा नदीमा दाहसंस्कार गरिने उनका आफन्त विराट कडायतले जानकारी दिए ।
सुदूरपश्चिमको मौलिक ठाडी भाकालाई देश दुनियामा चिनाउन महत्वपूर्ण भूमिका खेलेको देउडा गायक कडायतको निधनले सुदूरको कला साहित्य क्षेत्रमा ठूलो क्षति पुगेको छ ।