दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई चालु आर्थिक वर्षदेखि बालश्रम मुक्त गाउँपालिका बनाइने भएको छ ।
गत असार १० गते गाउँ सभामा प्रस्तुत गरिएको निति तथा कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष हिरा सिह धामीले चालु आर्थिक वर्षदेखि गाउँपालिकालाई बालश्रम मुक्त गाउँपालिका बनाउने बताउनु भयो । गाउँपालिका क्षेत्रभित्र बाल अधिकार शुनिश्चित गरी बालमैत्री पालिका बनाउन नीति, रणनीति र निर्देशिका बनाइने उहाँले बताउनु भयो ।
गाउँपालिका क्षेत्रमा प्रयोग भईरहेको बालश्रमको तथ्यांक सँकलन गरी बालश्रमिक राख्ने घरमुली, बालश्रममा रहेका बालबालिका र तिनका अभिभावक समेतसँग छलफल गरि पालिकालाई बालश्रम पालिका निर्माणमा जोड दिइने गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो । त्यस्तै अती कमजोर आर्थिक अवस्था कमजोर भएका परिवारका श्रमिक बालबालिकालाई पालिका क्षेत्रका आवासीय सेवा सञ्चालन भएका विद्यालयसँग समन्वय गरी व्यवस्थापन गर्ने र अर्को व्यवस्था नभएमा श्रमिक बालबालिकाहरुको अध्ययन र अध्यापनका लागि गाउँपालिकाले पहल गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बालमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउन बालमैत्री कार्यक्रम सञ्चालन गर्ने, पालिका तथा वडाहरुमा बन्ने नयाँ भौतिक संरचनाहरु बालमैत्री बनाउने, बाल विकास कक्षा, स्वास्थ्य क्षेत्र, पोषण कार्यक्रमलाई प्राथमिकता दिएर काम गर्ने नीति गाउँ सभाबाटै पारित गरेर अगाडी बढेको प्रमुख प्रशासकिय अधिकृत सुरज प्रसाद जोशीले जानकारी दिनु भएको छ ।
त्यस्तै सामाजिक कूरितीहरु छाउपडी प्रथा, बालबिबाह, छुवाछुूत, घरेलू हिंसा, बाल दूव्र्यवहार जस्ता कूरालाई निरुत्साहित गर्ने, अनिवार्य विद्यालय भर्ना अभियान एवं व्यक्तिगत घटना दर्ता कार्यक्रमलाई वडा एवं पालिकामा अभियानको रुपमा सञ्चालन गर्ने गाउँपालिकाले नीति रहेको उहाँको भनाई छ । बाल संरक्षण एवं बालश्रम सम्बन्धी नीति, रणनीति र निर्देशिका तयार भएमा बालमैत्री गाउँपालिका बनाउन सहज हुने गाउँपालिकाले वश्वास लिएको छ ।