दार्चुला – दार्चुलाबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको शनिबार हेलिकप्टरबाट उद्दार गरेर थप उपचारका लागि सुर्खेत लगिएको हो ।
दार्चुला जिल्ला लेकम गाउँपालिका–२ गराडी बस्ने ३० वर्षीया काली सार्की सुत्केरी व्यथा लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनु भएको छ ।
सार्कीको शारीरिक अवस्था कमजोर रहेको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दा पनि अवस्था कमजोर रहेकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रजिअ उपाध्यायले बताउनु भयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ति महिलाको उद्दार गरिएको प्रशासनले जनाएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्दार गरिन थालेपछि सुत्केरी महिलाहरुको ज्यान जोगिएको छ । दार्चुलामा हाल सम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरर्गत ३ जना महिलाहरुको उद्धार गरिएको छ ।