काठमाडौं – शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खिर खानु आवश्यक देखिन्छ । साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ ।
खिरमा मिसाइने मरिच, किसमिस, सुकेको नरिवल, दालचिनी आदि मसलाले यो मौसममा मिठो हुनुका साथै यसको सेवनले हाम्रो शरीरको तापमानलाई सन्तुलनमा ल्याएर नकै फाइदा पु¥याउने गर्छ ।
हाम्रो शरीरमा चामलले कर्बोहाइट्रेट, घिउले फ्याट, दूधले क्याल्सियम, प्रोटिन तथा भिटामिन, ड्राइ फ्रुट्सहरुले विभिन्न खनिज तत्वहरु प्रदान गर्छ । खिरको सेवनले हाम्रो दाँत, हड्डी तथा मांसपेशीलाई बलियो बनाएर विकाशमा समेत सहयोग पुर्याउने गर्छ । खिर नरम हुने भएकाले यसलाई सजिलै पचाउन सकिन्छ, जसकारण बच्चादेखि बृद्धलाई समेत खिरको सेवन गराउन सकिन्छ । खिरको सेवनले हाम्रो शरीरमा तत्काल उर्जा प्रदान गर्छ ।
साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।
खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । नेपाली वृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।
दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।