दार्चुला – जिल्लामा पुनः कोरोना सङ्क्रमणदर वृद्धि हुन थालेको छ । केहीसमय यता जिल्लामा कोरोना संक्रमणदर बढन थालेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
भारतमा कोरोना संक्रमणदर दिनानुदिन बढिरहेकाले सीमा जोडिएको दार्चुला जिल्लामा समेत संक्रमणदर बढ्दै गएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनु भयो । कोरोना संक्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ । जिल्लामा भारतसंग सीमा जोडिएका नाकामा कोरोना परीक्षणदरमा बृद्धि गरिएको पुलघाटका स्वास्थ्यकर्मी रविन्द्र सिह ठगुन्नाले बताउनु भयो ।
भारतबाट नेपाल फर्कने नागरिकको कोरोना परीक्षण भइरहेको उनले बताए । साउन पहिलो साता सम्म कोरोनाका संक्रमित शून्य रहेको दार्चुलामा अहिले २ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना संक्रमणदर बढ्दै गएपछि जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
हाल सम्म जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं २ भगवती स्वास्थ्य चौकीमा कोरोना परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले बताउनु भयो ।
भगवती स्वास्थ्य चौकीमा केहीदिन पहिले ६३ वर्षका एक जना पुरुष तथा ४३ वर्षकि एक जना महिलागरी २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय दर्चुलाका सुचना अधिकारी कार्कीले बताए । ज्वरो र रुघाखोकि लागेर परीक्षण गर्न भगवती स्वास्थ्य चौकीमा पुगेका दुबै जनामा कोरोना देखिएको बताइएको छ । उनीहरुको अवस्था अहिले सामान्य रहेको पनि बताइएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाले कोरोना विरुद्धको खोप नलगाएको भए खोप लगाउन समेत आग्रह गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । गत वर्ष दार्चुलामा कोरोनाका कारण ३ जना महिला सहित ११ जनाको मृत्यु भएको थियो ।