बारा – एक भारतीय महिलाले किर्ते जालसाजी गरेर नेपाली नागरिकता प्राप्त गरेको घटनाको विषयलाई लिएर छानबिन सुरु भएको छ । बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयमा नक्कली कागजपत्र तयार गरेर एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएको विषयलाई लिएर छानबिन गर्न थालिएको हो ।
भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीय रजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाइ रजनी गोले नामबाट इलाका प्रशासन कार्यालय सिमराबाट ३३/०२/०७९/००५१३ नम्बरको नागरिकता लिएको देखिएको छ ।
वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट लिएको नागरिकताको घटनाबारे छानबिन थालिएको छ । प्रशासन प्रमुख मोहनप्रसाद अर्यालले उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र सो कार्यमा संलग्न दोषीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
वडा कार्यालयको रेकर्डबाट राईको जन्म मिति २०५८/११/१५ गते दर्ता रहेको देखिएको छ । यो जन्मदर्ता २०७९/०२/२३ गते वडा कार्यालयबाट बनाइएको हो । किर्ते जालसाजी गरी अभिभावकमा बुबाको नाम श्यामराज गोले र आमाको नाम जीरामाया गोले बनाएर नेपाली नागरिकता लिएको पाइएको छ ।
रजनी गोले भन्ने रजनी राईको भारतीय आधार कार्डमा ३७७९५६५०३५६६ नं लेखिएको छ भने भारतीय निर्वाचन आयोग परिचयपत्रमा टिक्युजी २०७६९२५ लेखिएको प्रमाण फेला परेको छ । उक्त परिचयपत्रमा निजको नाम रजनी राई, बुबाको नाम किशोर राई जन्म तारिख १९८९/०३/२४ रहेको छ ।