काठमाडौं — काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको बीभत्स हत्या भएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको पुष्टि गरे ।
हत्या हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका प्रहरीले जनाएको छ । मृतकमध्ये केशव पाण्डे झुन्डिएको अवस्थामा र अन्य तीन जनाको धारिलो हतियारको प्रहारबाट मृत्यु भएको प्रारम्भिक घटनाक्रम देखिएकोले उक्त घटनामा पाण्डेले पत्नी र छोराछोरीको हत्या गरी आफूले पनि आत्महत्या गरेको आशंका गरिएको छ।
सोमबार बिहान कोही नउठेपछि छिमेकीले ढोका फुटाएर हेर्दा केशव पाण्डे र उनकी पत्नी सुनितासहित छोराछोरी मृत भेटिएका थिए।
प्रहरीका अनुसार घरभित्रबाट ढोकाको चुकुल लगाइएको थियो । पत्नी र छोराछोरीको शरीरमा धारिलो हतियारले प्रहार गरेको चोट देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा केशवले पत्नी सुनिता काफ्ले पाण्डे, छोरी आशिका र छोरा आशिकको हत्या गरेर आफूले आत्महत्या गरेको जस्तो देखिएको बताए ।
उनले भने, ‘परिवार सखाप पारेर केशवले आत्महत्या गरेको जस्तो छ। थप जानकारी भने प्रहरी अनुसन्धानबाट पुष्टि हुनेछ।’ एसपी कोइरालाले पनि परिवारका सदस्यको हत्या गरेपछि आफूले आत्महत्या गरेको आशंका गरेका छन् ।