काठमाडौं – काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको बीभत्स घटनामा अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।
गोरखाको भीमसेन थापा गाउँपालिका –६ अश्राङ घर भई तारकेश्वर नगरपालिका –२ पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् । प्रहरीले घटनास्थलबाट चक्कु र चार पन्नाको सुसाइड नोट बरामद गरेको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।
हत्या हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका प्रहरीले जनाएको छ । मृतकमध्ये केशव पाण्डे झुन्डिएको अवस्थामा र अन्य तीन जनाको धारिलो हतियारको प्रहारबाट मृत्यु भएको प्रारम्भिक घटनाक्रम देखिएकोले उक्त घटनामा पाण्डेले पत्नी र छोराछोरीको हत्या गरी आफूले पनि आत्महत्या गरेको आशंका गरिएको छ ।
तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मृतक सुनिता दुई दिनपछि युके जाने तयारीमा रहेको जानकारी पाएको बताए । प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । प्रारम्भिक जानकारीअनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । उनले काभ्रेस्थली पदमसालमै पसल पनि राखेका थिए । उक्त पसल केही समयअघि बिक्री गरेका थिए । उनको परिवारबारे जानकार छिमेकीहरुका अनुसार दिनेश र सुनीताबीच मेलमिलाप थिएन । पारिवारमा मेलमिलाप नभएका कारण दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।
सोमबार बिहान कोही नउठेपछि छिमेकीले ढोका फुटाएर हेर्दा केशव पाण्डे र उनकी पत्नी सुनितासहित छोराछोरी मृत भेटिएका थिए । प्रहरीका अनुसार घरभित्रबाट ढोकाको चुकुल लगाइएको थियो । घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको छ । र बाहिरबाट मानिस प्रवेश गरेको पनि देखिएको छैन ।
घटनाबारे प्रहरीको अनुसन्धान जारी छ । काठमाडौं प्रहरी परिसरबाट प्रहरी उपरीक्षकसहितको टोली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली, प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको टोली अनुसन्धानमा खटिएको छ । साथै अनुसन्धानमा त्रि.वि. शिक्षण अस्पतालबाट फोरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्यायसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।