काठमाडौं – भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक रहेको बताएकी छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तयार गरेको गत वर्षको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिइन्।
सहकारीहरु मूल्य, मान्यता, सिद्धान्त अनुसार चल्नुपर्नेमा जोड दिँदै उनले सहकारीहरु समस्याग्रस्त बन्ने अवस्था आउन नदिने गरी काम गर्न सम्बद्ध पक्षलाई आग्रह गरिन् ।
सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास तथा समृद्धिका लागि भूमिका महत्वपूर्ण हुने भन्दै उनले सहकारीले सदस्य केन्द्रित भई व्यवसायिक बनाउनुपर्नेमा उनले जोड दिइन्। मन्त्रीलाई बुझाइएको प्रतिवेदनमा सहकारीलाई सहकारीकै रुपमा सञ्चालन नगर्दा र सहकारी सम्बन्धी ऐन कानुनको पालना नहुँदा संस्थाहरु समस्याग्रस्त हुन पुगेको औंल्याइएको छ।
सहकारीहरुलाई समस्याग्रस्त हुनबाट जोगाउन सहकारी ऐनरनियमको प्रभावकारी कार्यान्वयनका साथै सहकारी संस्थाहरुमा सुशासन प्रवर्द्धन आवश्यक रहेको पनि प्रतिवेदनमा उल्लेख छ। समितिका अध्यक्ष काशीराज दाहालले सहकारी संस्थाहरुमा विकृति र विसंगतिको रोकथाम तथा नियन्त्रणको लागि सहकारी दर्ता प्रक्रियामा नै विशेष ध्यान दिनु पर्ने बताए ।