काठमाडौं – मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी प्रहरी समायोजनको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
यही साउन २२ गते सबै दलका प्रदेशसभा सदस्यसहित सबै मन्त्रीहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यतालिका रहेको उनले बताए । सातदिने ‘अल्टिमेटम’सहितको ज्ञापनपत्रपछि पनि प्रहरी समायोजन नगरिए संर्घषका थप कार्यक्रम सार्वजनिक गरिने उनले चेतावनी दिए ।
सर्वदलीय बैठकबाट आन्दोलनको निर्णय गरिएको भन्दै आन्दोलनमा प्रदेशका सबै राजनीतिक दलको समर्थन र सहयोग रहने उनको भनाइ छ ।
अहिले पनि सङ्घीयता विरोधीहरूलाई बल पुग्ने गरी केन्द्र सरकारले काम गरिरहेको आरोप उनले लगाए । अधिकार नदिँदा संघयितामा पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको उनले उल्लेख गरे ।
मन्त्री साहले संर्घष आफूहरूको बाध्यता रहेको भन्दै मधेसी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । उनले काठमाडौँमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दा प्रहरी समायोजन गर्नमा प्रधानमन्त्री गम्भीर नदेखिएको आरोप लगाए ।