दार्चुला – जिल्ला अस्पताल दार्चुलामा पहिलो पटक सर्पदंशको उपचार सुरु भएको छ । सुदूरपश्चिम प्रदेश क्षेत्रिय मेडिकल स्टोरबाट जिल्ला अस्पताल दार्चुलालाई ६० भाइल “एन्टी स्नेक भेनम” औषधी उपलब्ध गराएपछि अस्पतालमा सर्पदंशको उपचार सुरु भएको हो । सर्पदंशको उपचार जिल्लामै गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले केही महिना अघि जिल्ला अस्पताल दार्चुलामा कार्यरत ३ जना स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिएको थियो ।
जिल्ला अस्पतालका स्वास्थ्यकर्मी राजेश भट्ट, डाक्टर डम्मर दत्त भट्ट र सरिता धामीले तालिम लिएका हुन् । यसअघि सर्पदंशको उपचार गर्न तराई लगायत भारत जानुपर्ने बाध्यता रहेकोमा जिल्ला अस्पताल दार्चुलामै अब उपचार सम्भव भएपछि सर्पको टोकाईबाट ज्यान जानुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।
सर्पदंशबाट प्रायः गाउँका महिला, किसान र बालबालिका प्रभावित हुने गरेका छन् । जिल्लामा मुख्य गरी खेती लगाउने र स्याहार्ने समयमा सर्पदंसका घटना बढ्ने गरेको पाइएको छ । सर्पदंर्शको उपचार अब जिल्लामा हुने भएपछि सहज उपचार पाइनेमा स्थानीयले विश्वास गरेका छन् । सर्पदंसकै कारण गत वर्षमा दुई जनाको ज्यान गएको बताइएको छ ।