काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र २ वटा पुरुष छात्रावास भवनको सोमबार आयोजित समारोहबीच उद्घाटन गरेका छन् ।
उद्घघाटन पश्चात उनले नवनिर्मित भवनहरुको निरीक्षण गर्नुको साथै नवनिर्मित एकेडेमिक ब्लक परिसरमा वृक्षारोपण समेत गरे।
प्रहरी महानिरीक्षक सिंहले उक्त स्कुलमा लामो समयसम्म आवद्ध रही योगदान पुयाएबापत कदर गर्दै शिक्षक उद्वव कार्कीलाई डिबी लामा टिचर्स अवार्ड २०७८ र नगद सहित सम्मान गरे । यसैगरी उनले २५ वर्षभन्दा लामो अवधिसम्म विद्यालयमा योगदान गर्ने शिक्षक तथा कर्मचारीहरुलाई कदरपत्र प्रदान गरे ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले शिक्षा प्रणालीलाई थप समयसापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता पूरा गर्न दक्ष एवं सुयोग्य जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कूल एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिए ।
उक्त भवनहरु नेपाल पुलिस स्कुल साँगाको आन्तरिक स्रोत, नेपाल प्रहरी कल्याण कोषको ऋण सहयोग तथा नेपाल सरकारको तर्फबाट राष्ट्रिय पुनस् निर्माण प्राधिकरण कोषको सहयोग गरी कूल २१ करोड ३४ लाख ३२ हजार ७ सय ४६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । कूल ६३,८६३र७२ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएका उक्त भवनहरु २०७६ मंसिर १८ गते सुरु भई विभिन्न चरणमा सम्पन्न भएका हुन् । उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्षकहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।