दार्चुला – दार्चुलामा १ हजार ६६४ जना नयाँ मतदाता थपिएका छन्। गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
गत असार १ गते देखि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा नामावली संकलनको काम थालिएको थियो । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदिप सिह धामीका अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलामा १ हजार ३९ जना तथा जिल्ला निर्वाचन कार्यालय दार्चुलामा ६२५ जना नयाँ मतदाता थपिएको बताइएको छ । जसमा प्रशासनमा ५५१ जना पुरुष तथा ४८८ जना महिला मतदाता थपिएका छन् । यस्तै निर्वाचन कार्यालयमा २८४ जना पुरुष र ३४१ जना महिला मतदाता थपिएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लामा बाहिरका मतदाताले पनि नाम दर्ता गराएको बताइएको छ । बाहिर जिल्लाका मात्रै १०६ जनाले नाम दर्ता गराएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । योसँगै जिल्लामा मतदाताको सङ्ख्या अब ८९ हजार ९सय ४९ जना पुगेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दार्चुलामा ८८ हजार २सय८५ जना रहेका थिए। सरकारले अगामी मङ्सिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली सङ्कलन कार्य २० गते देखि स्थगित गरेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।