दार्चुला – दार्चुला जिल्लामा उत्पादन हुने खाद्यान्न कम हुँदै गएपछि वर्षेनी खाद्यान्न अपुग हुने गरेको छ । पछिल्ला वर्षमा खाद्यान्न उत्पादनमा कमी आएसँगै जिल्लामा आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिए ।
पछिल्लो समयमा उत्पादन सिल क्षेत्र कम, खडेरी, उत्पादन क्षेत्र भिरालो, आधुनिक मेसिन तथा औजार हरुको प्रयोग कम ,लगायतका कारणले जिल्लामा खाद्यान्नको उत्पादनमा कमी आएको ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । यसले जिल्लामा चाहिने खाद्यान्न अपुग हुने गरेको छ । जिल्लामा अझै ‘अधिकांश खेतीयोग्य जमिन बाँझै रहेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वार्षिक २७ हजार १४६ मेट्रिक टन खाद्यान्न आवश्यक परे पनि २२ हजार १७० मेट्रिक टन खाद्यान्न मात्रै उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ । दार्चुला जिल्लामा वार्षिक ४ हजार ९७६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाको तथ्याङले देखाएको छ ।
अपुग खाद्यान्न तराईका जिल्लाबाट आयात हुने गरेको छ । जिल्लामा बार्षिक मकै ९ हजार ६ सय ८६ मेट्रिक टन उत्पादन हुने गरेको छ भने धान १२ हजार ९६ मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । गहु ११ हजार ३सय ३४ तथा कोदो १ हजार १३३ मेट्रिक टन उत्पादन हुने गरेको छ । यस्तै जौ १ हजार ७८ तथा फापर ९० मेट्रिक टन उत्पादन हुने गरेको छ ।