महेन्द्रनगर – सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन बिष्ट मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर रासनमा घोटला गरेको आरोप खेपिरहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट गणपतिको जिम्मेवारीबाट मुक्त पारिएका एसपी बिष्ट अहिले सशस्त्र प्रहरीको विशेष अदालतको कठघरामा छन्। सशस्त्र प्रहरी स्रोत भन्छ, ‘एसपी बिष्टलाई जोगाउन थुप्रै प्रयास भएका छन्। तर उनी अहिले विशेष कठघरामा छन्।’ ४४ नम्बर गणमा २ सय ५८ जना कार्यरत रहेकोमा एसपी बिष्टले एकै पटकमा एक सय २२ जनालाई बिदामा राखेर रासन भत्ता बुझेको आरोप लागेको छ।
उनको जिम्मेवारी खोस्नुअघि सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले स्पष्टिकरण सोधेको थियो। रासनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो। ‘तर उक्त समितिले पनि एसपी बिष्टलाई जोगाउने गरी छानबिन गरेको थियो,’ सशस्त्र स्रोत भन्छ, ‘बाहिर मिडियामा बिभागीय कारबाही गर्न सिफारिस गरेको खबर आए पनि छानबिन समितिले एसपी बिष्टलाई जोगाउने गरी प्रतिवेदन बुझाएको छ।’
रासनमा हुने घोटलाको सूचना मिडियासम्म पुगाउने ४४ नम्बर गणमा कार्यरत वरिष्ठ हवल्दार नरेशसिंह शाहुलाई दोषी बनाएर एसपी बिष्टलाई जोगाउन थुप्रै चलखेल भइरहेको दाबी पनि स्रोतको छ। सशस्त्र प्रहरीको विशेष अदालतमा जारी मुद्दाको फैसला एक साताभित्रै हुने सम्भावना बढी छ। विशेष अदालतले गरेको निर्णयमा चित्त नबुझे ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सकिने व्यवस्था छ। विशेष अदालतले मुद्धाको साक्षी बुझेको ९० दिनभित्र फैसला गर्नुपर्ने व्यवस्था रहेको छ।
‘सीमा सुरक्षाका लागि दार्चुलामा खटाइएका १२२ जना सशस्त्र प्रहरी बिदामा !’ शिर्षकमा २८ जेठमा समाचार प्रकाशन भएको थियो। समाचारमा बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको रासन भत्ता नम्बर ४४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक त्रिभुवन बिष्टको व्यक्तिगत खातामा जाने आरोप पनि लगाइएको थियो। उक्त सूचना मिडियासम्म पुगाउनेको खोजी गर्ने क्रममा सिपाइको मोबाइल परीक्षण गर्न थालियो। वरिष्ठ हवल्दार नरेशसिंह शाहुले फेसबुक म्यासेन्जरमा पत्रकार सन्तोषसिंह ठगुन्नासंग रासनमा हुने अनियमितताबारे कुराकानी गरेको भेटियो।
पत्रकार ठगुन्नाले पनि सूचना दिने शाहु नै हुन भनेर पुष्टि गरे। मिडियासम्म खबर पुगाएको भन्दै शाहुविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरिएको थियो। शाहुमाथि हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको आरोप लगाइएको छ। तर उनले मिडियासम्म उपस्थित र अनुपस्थित सशस्त्र कर्मचारीको विवरण मात्रै पुगाएका थिए। हवल्दार शाहुलाई जन्मकैद माग गर्दै जेल हालिएको छ।
हवल्दारको परिवारको बिचल्ली
पर्वत दरबन्दी भई काजमा दार्चुलामा कार्यरत रहेका वरिष्ठ हवल्दार शाहुलाई सशस्त्र प्रहरीमा १९ वर्ष पुगिसकेको छ। दार्चुलाको महाकाली नगरपालिका–२ मुल्ला घर भएका उनको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा पनि बसोबास छ। घरमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन्। दाईको मृत्युपछि भतिजाको लालनपालनको जिम्मेबारी पनि शाहुमाथि नै थियो। तर पेन्सन खान एक वर्ष बाँकी रहदा शाहु जेल परेपछि परिवारको बिचल्ली भएको छ। ‘१९ वर्षको जागिरे समयमा कहिल्यै विवादमा आउनुभएन,’ शाहुकी श्रीमती दुर्गाले भनिन्, ‘पेन्सन खाने समयमा जेल परेपछि परिवारको बिचल्ली भएको छ।’ दुर्गा छोराछोरीसंगै कञ्चनपुर बस्दै आएकी छिन्।