काठमाडौं – राष्ट्रिय भूमी आयोग जिल्ला समिति दार्चुलाले जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकामा सम्झौता गरिसकेको जनाएको छ । कार्यालयले आफ्नो कामलाई तीव्रता दिने उद्देश्यले मंगलबार कार्यालयमा गरेको पत्रकार भेटघाटका क्रममा राष्ट्रिय भूमी आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लाल सिह धामीले सबै स्थानीय तहसंग सम्झौता गर्ने काम सकिएको बताए ।
जिल्लाका ९ वटै पालिकाहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेपछि अब काम अघि बढ्ने उनले बताए । पालिकाहरुमा रहेका अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमीहिनहरुको तथ्यांक संकलनका लागि पालिकाहरुले आयोगसंग सम्झौता गरेको अध्यक्ष धामीले बताए ।
जिल्लाको महाकाली शैल्यशिखर नगरपालिका ,मालिकार्जुन लेकम नौगाड दुहुँ अपि हिमाल मार्मा व्यासँ गाउँपालिकासंग आयोगको सम्झौता सकिएको बताइएको छ । आयोगसंग सम्झौता गरेका पालिकाहरुलाई असोज मसान्तभित्र तथ्यांक उपलब्ध गराउन आग्रह गरिएको अध्यक्ष लाल सिह धामीले बताए ।
भूमीहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको तथ्यांक पालिकाहरुले उपलब्ध गराएपछि उनीहरुको व्यवस्थापनका लागि काम गरिने बताइएको छ । आयोगसंग सम्झौता गरेका स्थानीय तहका जनप्रतिनिधिहरुले भूमी सम्बन्धि समस्या समाधानका लागि आफूहरुले पहल गर्ने बताएका छन् । आयोगसंग सम्झौता भएको बताउँदै नौगाड गाउँपालिकाका अध्यक्ष दलजित सिह धामीले पालिकामा रहेका अव्यवस्थित बसोबासी,सुकुम्बासी र भूमीहिनहरुको तथ्यांक संकलन गरिने बताए ।
उनले भने ‘हामीले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेका छौं । अब तथ्यांक संकलनको काम अघि बढाउँछौं ।’
तथ्यांक संकलनका लागि जनशक्ति नभएका पालिकाहरुमा जनशक्ति राखेर पनि काम अघि बढाइने अध्यक्ष धामीले बताए । उनले भने ‘आयोगको कार्यदेश अनुसार हामीले काम गरिरहेका छौं । जिल्लामा रहेका भूमीहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गछौं ।’ हाल जिल्लामा १३० जना सुकुम्बासी र ३६८ जना अव्यवस्थित बसोबासीहरु रहेको बताइएको छ । नयाँ थप ५४ जना रहेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति दार्चुलाले जनाएको छ ।
यो भन्दा पहिलाको आयोगले पनि जिल्लामा केही काम गरेको बताएको छ । तर त्यो आयोगले गरेको कामहरु आफूहरुलाई नबुझाएको अध्यक्ष धामीले बताए । उनले भने ‘पहिलाको आयोगले गरेको कामका बारेमा हामीलाई केही जानकारी दिइएको छैन् । त्यसैले शुरुबाट काम गर्नुुपर्ने अवस्था रहेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति दार्चुलाले जनाएको छ ।